नेकपाका स्थायी कमिटी सदस्य सोमनाथ अधिकारी ‘प्यासी’ले युवा नेता लेखनाथ न्यौपानेको लेखन नरम र बोली कडा भएको बताएका छन् । न्यौपानेद्वारा लिखित ‘संघर्षको इतिहास’ नामक पुस्तकको पोखरामा परिचर्चा गर्दै अधिकारीले सो कुरा बताएका हुन् । प्रगतिशिल लेखक संघ, कास्कीको आयोजनामा भएको कार्यक्रममा अधिकारीले भने, ‘हाम्रा युवा नेता लेखनाथको लेखन त नरम रैछ, बोलि त साह्रै कडा !’

अधिकारीले लेखकलाई बधाई दिँदै लेखन पनि आफैँमा संघर्षको इतिहास भएको बताए । उनले भने, ‘यो किताबले जिम्मेवारी लिने र जवाफदेही नहुनेलाई झापड हानेको छ ।’ नेता अधिकारीले पछिल्लो समय कम्युनिस्ट पार्टीका नेता कार्यकर्ता पनि विचौलियाजस्तो भएको स्वीकार्दै वर्गसंघर्षको चरित्र फेरिएको समेत दावी गरे ।

परिचर्चा कार्यक्रममा नेता तथा लेखक न्यौपानेले किताबमार्फत विचारको वहस चलाउन खोजेको बताए । गरीब किसानको छोरो यो ठाउँमा आइपुगौँला भन्ने नसोचेको बताउँदै नेता न्यौपानेले जनयुद्धले झैँ अबको कम्युनिस्ट पार्टीले नयाँलाई अवसर दिँदैन कि भन्ने चिन्ता प्रकट गरे । कम्युनिस्ट पार्टीले ज्ञान उत्पादन गर्न सक्नुपर्ने तर शुन्यप्राय: भएको उनको भनाई छ ।

उनले समृद्धि भएपछि समाजवाद आउँछ भन्नु गलत भएको बताए । उनले भने, त्यो गलत कुरा हो । त्यो माक्र्सवाद होइन । ठूलाठूला बाटा बनाउने अनि कोकाकोला बेच्ने ? जनता उत्पादनसँग नजोडी समाजवाद हुँदैन ।

पछिल्लो समय सरकार र पार्टीका नेताको सार्वजनिक रुपमै आलोचना गर्दै आएका नेता न्यौपानेले बहस र पद एकैचोटी प्राप्त नहुने बताए । राजनीति यस्तै भइरहे गैरराजनीतिक शक्ति उदाउने खतरातिर संकेत गर्दै उनले भने, ‘म पदको निम्ति कसैका घर जान्न, अब नैतिकताको आन्दोलनको नेतृत्व गर्छु ।’

कार्यक्रममा नेता झलकपाणी तिवारीले नेता न्यौपानेसँग करिब २ वर्ष जेलमा सँगै रहेको जानकारी दिँदै जेलमा पनि लेखनाथको जीवनशैली माक्र्सवादी रहेको भन्दै न्यौपानेको प्रशंसा गरे । न्यौपानेबारे जानकारी दिँदै तिवारीले भने, ‘लेखनाथले जेलभित्र बस्दा पनि आफैँले टोपी बुनेर त्यही पैसाबाट ‘प्रतिवन्धित कलम’ नामको पुस्तक प्रकाशन गर्नुभएको थियो ।’ लेखनाथ स्पष्ट वक्ता र प्रशंसा गर्न लायक नेता भएको बताए । कुनै बेला आफू पनि नेता रिसाउँछन् कि भनेर बोल्न डराएको खुलाउँदै तिवारीले भने, ‘म पनि अब लेखनाथजस्तै डरमुक्त भएँ ।’

प्रा.डा. तारा बरालले लेखनाथले लेखेको १० वटै किताब आफूले पढेको जानकारी दिँदै जनयुद्धको समय लेखिएको एउटा कृति पढेर धुरुधुरु रोएको खुलासा गरे । लेखनाथले म्याथ विषयमा स्नाकोत्तर गरे पनि राजनीतिको बारेमा किताब लेखेको र आफूले राजनीतिशास्त्रमै विद्यावारिधी गरे पनि किताब लेख्न नसकेकोमा बरालले आत्मालोचना समेत गरे ।

लेखनाथको नेतृत्वको बेला विद्यार्थी संगठन सडक वाघ भएको बताउँदै बरालले नेपालको शिक्षामा डलर लगानी भएको दावी गरे । लेखक न्यौपानेलाई अध्ययन गर्न राजनीतिक सम्बन्धिको किताब हस्तान्तरण गर्दै बरालले भने, ‘उहाँले सार्वजनिक रुपमा उठाएका विषयप्रति म पनि सहमत छु ।’ पढ्नेलाई पनि ‘किताबको किरो’ भनेर आलोचना हुने गरेको बताउँदै उनले नेपालीसँग पठन सँस्कृति नभएकोमा चिन्ता समेत व्यक्त गरे ।

प्रगतिशील लेखक संघका केन्द्रीय उपाध्यक्ष डा.कृष्णराज अधिकारीले संघर्षको इतिहास किताबको टिप्पणी गर्नुपर्ने ठाउँ नै नभएको बताए । पुस्तक राजनीतिक पार्टीका नेता र कार्यकर्ताका लागि अति उपयोगी भएको बताउँदै अधिकारीले राजनीतिक व्यक्तित्व र लेखनलाई सँगै लान समेत लेखक न्यौपानेसँग अनुरोध गरे ।

अनेरास्ववियुका केन्द्रीय उपाध्यक्ष रश्मी आचार्यले नेता लेखनाथ न्यौपानेबाट सबै नेता कार्यकर्ताले पाठ सिक्न सबैसँग अनुरोध गरे । पृथ्वीनारायण क्याम्पस स्ववियुका पूर्वसभापति समेत रहेका युवा नेता आचार्यको युवाहरुले नै देशको नयाँ कार्यभार थाम्नुपर्ने बेला आएको बताए ।

कार्यक्रम प्रगतिशील लेखक संघ, कास्कीका अध्यक्ष भीम रानाभाटको अध्यक्षतामा सम्पन्न भएको थियो । सो कार्यक्रममा नेकपा कास्कीका सयौँ नेता कार्यकर्ता सहभागी थिए ।

Loading