पुस्तक किन अध्ययन गरिन्छ ?
एक वाक्यमा भन्दा पुस्तक अध्ययनको उद्देश्य ज्ञानको दायरा फराकिलो बनाउन हो । ज्ञान उत्पादन नगरिकन कुनैपनि क्षेत्रको अझ् राजनीतिमार्फत् समाजको सही नेतृत्व सम्भव छैन । अज्ञानताले समााजको रुपान्तरण सम्भव हुँदैन । त्यसकारण पुस्तक अध्ययन आवश्यक हुन्छ । पुस्तकलाई समाजसँग जोडेर बुझ्नुपर्छ ।

नेपाली समाज र पाठकमा पुस्तक अध्ययनको संस्कृति कस्तो पाउनुभएको छ ?
यसका दुइ–तीन वटा पक्ष छन् जस्तो लाग्छ । एउटा राजनीति अथवा माक्र्सवादी पुस्तकको पक्ष, अर्को विसुद्ध साहित्यिक पक्ष र तेस्रो बजारले निर्धारण गर्ने पक्ष । यि तिनै आयम नियाल्दा पठन संस्कृति कमजोर देखिन्छ । यसो हुनाको एउटा कारण उपभोक्तावादको दादागिरी हो । अर्को कारण विज्ञान प्रविधिको विकास अथवा सामाजिक सञ्जालहरुले छिटो–छिटो दिने सूचना हो । यो प्रवृत्तिले गहिराइपूर्वक÷चाखपूर्वक अध्ययन गर्ने संस्कृतिलाई बनाएको छ भन्ने लाग्छ । तेस्रो पक्ष पछिल्लो पुस्ता अलि हतारको पुस्ता देखिन्छ । उसलाई छिटो प्रतिक्रिया र छिटो नतिजा चाहिएको छ । यो पुस्ता मूलतः सामाजिक सञ्जालहरुमा आएका सूचनालाई आधार मानेर धारणा र दृष्टिकोण बनाउन खोज्छ । त्यसकारण पुस्तक अध्ययनको ंसंस्कृति कमजोर भएको हो कि जस्तो लाग्छ ।

नेपालका राजनीतिक नेतृत्व तहमा अध्ययन संस्कृति कस्तो छ ?
मैले सार्वजनिक रुपमा पनि बोलेको छु । आजको राजनीतिक नेतृत्व आफ्नो जमानामा पढेको पुस्ता हो । सापेक्षित रुपमा यो पुस्ताले नजिता पनि निकालेको मान्नु पर्यो । तर अहिले त्यो पुरानो पुस्ताले ज्ञान उत्पादन जरुरी ठानेको देखिदैन । उ मूलतः शक्तिमा, पदमा वा लाभमा रमाइरहेको छ । तर शक्तिमा रमाउने र ज्ञान उत्पादन गर्ने कुरा फरकफरक विषय हुन् । अहिलेको राष्ट्रिय नेतृत्व जो आफुलाई माथिल्लो स्तरको अब्बल र बौद्धिक पनि ठान्छ तर उ आज अध्ययनमा छैन । दैनिक सामान्य अनुत्पादक काम जस्तै उद्घाटनको नाममा रिवन काट्नेदेखि सिलन्यासको नाममा ढुङ्गा वा इँटा पूजा गर्ने, साना–साना कार्यक्रममा पनि तामझामकासाथ उपस्थित हुने र पछिल्लो समायमा यो संसदीय राजनीतिमा रातो कार्पेट वा रातो पिर्के सलामी खानेसम्म स्खलित भएको देखिन्छ । यस्तो अवस्थामा अध्ययन संस्कृति कस्तो अवस्थामा होला ? सहज निष्कर्ष निकाल्न सकिन्छ ।

पुस्तक विनाको जीवन कस्तो होला ?
यो विषय र प्रसङ्गमा दुनियाँमा धेरै मानिसले बोलका छन् र बहस पनि भएको छ । यदि पुस्तकलाई ज्ञान उत्पादनसँग जोड्ने हो भने पुस्तक नपढिकन सचेत वा राजनीतिक प्राणी बाँच्न सकिन्न । बाँच्ने भन्नुको अर्थ कुनै न कुनै रुपमा समाज रुपान्तरणका लागि योगदान गर्ने कुरा हो ।

तपाईले अध्ययन गर्ने पुस्तक कस्ता खालका हुन्छन् ?
भ्याउदाँसम्म म सबै खालका पुस्तक पढ्छु । माक्र्सवादको विद्यार्थी हुनुको नाताले माक्र्सवादसँग सम्बन्धित सामग्री अलि बढी खोज्नुपर्ने हुन्छ नै । यसका अतिरिक्त गैरमाक्र्सवादी पुस्तक पनि पढ्छु । किन कि माक्र्सवाद र गैर माक्र्सवादविचको संर्घषलाई बुझ्न पनि दुबै थरी पुस्तक पढ्नु पर्छु । समय मिल्दासम्म अलिअलि साहित्य पनि पढ्छु । हाम्रोमा माक्र्सवादी साहित्य भन्दा गैरमाक्र्सवादी साहित्य बाक्ला र राम्रा भनेर हल्ला हुनु चिन्ताको विषय ठान्छु ।

बढीजसो मनपर्ने पुस्तक चाही के कस्ता छन् ?
आजभोलि समाजवादसँग सम्बन्धित सामग्री खोज्ने र पढ्ने कोसिस गरिरहेको छु । समाजवाद, पूँजीवादसँग प्रतिस्पर्धा गर्न नसकेर हो वा आफैभित्रका विपरित तत्वसँग प्रतिस्पर्धा गर्न नसकेर कमजोर भएको हो । त्यो विषयभित्र हामी गहिरोसँग पस्न जरुरी देखिन्छ । यसकारण पनि समाजवाद केन्द्रित विषयमा अलि बढी समय गइरहेको छ । सँगै इतिहास र मुख्यत समाज वा मानवशास्त्रसँग सम्बन्धित पुस्तक पढ्ने कोसिस गरेको छु । सम्भव हुदाँ फ्रिक्सन पनि पढ्ने गरेको छु । फ्रिक्सन पढ्दा भिन्न प्रकारको अनुभूति हुन्छ । मत्लब फ्रिक्सनले सम्वेदनशील बनाउँछ ।

तपाईको पुस्तकालयमा कति पुस्तकको संग्रह छ ?
म डेरामा बस्तु । डेरा र पुस्तकालय अन्तरविरोधी बस्तु हो जस्तो लाग्छ मलाई । डेरा सर्दा पुस्तक घाडो भइदिन्छ । पुस्तक देखेपछि घरबेटीले कोठा दिन गारो मान्छन् किन कि घरको भित्ता कोरिन्छ, पेन्टिङ जान्छ भन्ने सोच्छन् । एउटा ठाउँमा बनाएको ¥याक अर्को ठाउँमा सर्दा मिल्दैन । त्यसपछि के गर्ने ? त्यसलाई फाल्नु कि अर्को बनाउनु ? यस्ता प्रतिकूलताकाबिचमा पनि मसँग पाँच हजार वरिपरी पुस्तक होलान् ।

कुन–कुन भाषमा पुस्तक अध्ययन गर्न मन पराउनुहुन्छ ?
म खस भाषी अथवा नेपाली मातृभाषी मान्छे । हाम्रो राष्ट्रिय भाषा पनि खस भाषालाई मानेको हुनाले स्वभाविक हिसाबले नेपाली भाषाका पुस्तक बढी पढिन्छ नै । यस अर्थमा अरु भाषा मेरो पहिलो रोजाइका होइनन् । अंग्रेजी मेरो त्यति राम्रो छैन तर बुझ्छु र पढ्छु पनि । हिन्दी भाषाको लिपी नेपाली भाषासँग मिल्ने हँुनाले यो भाषाका पुस्तक पनि पढ्छु तर साहित्यका कतिपय शब्द बुझ्न बडो मुस्किल पर्छ । भाषा रुपान्तरित गरिएका पुस्तक पनि पढ्नै पर्ने बाध्यता छ तर सुरुमा जुन भाषमा पुस्तक लेखिएको हुन्छ त्यही भाषामा पढ्दा जति प्रस्टता हुन्छ रुपान्तरित पुस्तकमा केही न केही समस्या देखिन्छ । अझ् पहिलोबाट दोस्रो र दोस्रो भाषाबाट तेस्रो भाषामा आएका पुस्तकको त सार नै खत्तम हुने व्यवहारिक समस्या पनि चर्कै छ ।

अध्ययनका लागि पुस्तक कसरी छनौट गर्नुहुन्छ ?
पहिलो आफु कुन क्षेत्रमा काम गरिरहेको छु भन्ने कुराले पुस्तक छनौट निर्धारण गर्ने हो । दोस्रो लेख्ने मान्छेका लागि के लेख्ने योजना छ भन्ने आधारमा पुस्तकको खोजी हुन्छ । तेस्रो, बौद्धिक साथीसँग छलफल हुदाँ कहीँ न कहीँ समसामयिक विषय र पुस्तकको कुरा उठ्छ र एक प्रकारले सुझाव केन्द्रित हुन्छ । त्यो हिसावले पनि कुन पुस्तक पढ्ने भन्ने कुरा निर्धारण हुन्छ । त्यसपछि बजार पनि छ । बजारमा आएका समीक्षा र सूचनालाई पनि आधार बनाएर आवश्यक पुस्तक खोज्ने र पढ्ने हो ।

पुस्तकका लागि मासिक वा वार्षिक खर्च के कति गर्नुहुन्छ ?
यो विषय यात्रा जस्तै हो । समय हँुदा पैसा हँुदैन, पैसा हुदाँ समय हुँदैँन भने जस्तै । कहिलेकाहीँ दुइटै चिज पनि नहुने खतरा हुन्छ । मेरो व्यक्तिगत कुरा गर्दा नियमित आय केही पनि छैन । श्रीमतीले जागिर गर्छिन् । मैले श्रीमतीको आयमा भात खाने हो । पुस्तक किन्नका लागि महिनामा वा वर्षमा यति उति भन्ने नियमितता त्यस्तो केही हुँदैन । आवश्यकता भयो भने खाजा नखाएर पनि पुस्तक किनिन्छ । म आफै पनि अलिअलि लेख्छु । पुस्तक लेख्ने भएकोले आवश्यक पुस्तक पुस्तक पसलसँग साट्छु । तेस्रो कुरा पुस्तक प्रदर्शनीमा केही छुट पनि हुन्छ र पुराना पुस्तक पनि भेटिन्छन् । त्यस्तो बेला अलिअलि खर्च गरेरै भएपनि पुस्तक किन्छु । कहिलेकाहीँ विदेश गएको बेला पुस्तक किन्न खोज्दा महंगा लाग्छन् र मनै झसङ्ग हुन्छ । तैपनि आवश्यकता महशुस हँुदा विदेशबाट पनि पुस्तक किनेर ल्याइन्छ् ।

अध्ययनका लागि समय व्यवस्थापन कसरी गर्नुहुन्छ ?
म अध्ययन दुई खालबाट गर्छु । एउटा नियमित र अर्को तत्कालीन आवश्यकताको आधारमा । मेरो नियमित अध्ययनको समय राती खाना खाएपछि हो । सामान्यतया १२ वा १ बजे भन्दा अगाडि सुत्दिन । कहिलेकाहीं छोटो समयमा कार्यपत्र लेख्नुपर्यो वा कुनै सन्दर्भ सामग्री खोज्नुपर्यो भने दिउँसोमा पनि पढ्छु । दिउँसो पढ्दा मोबाइल अफ गरेर काममा बस्नु पर्ने हुन्छ । कहिलेकाहीँ चिनेको रेष्टुरेन्टमा विहान वेलुका बसेर पनि लेख्ने पढ्ने गर्छु ।

खोजे अनुसार पुस्तक नपाउदाँ वा कहिलेकाहीँ यस्तो खालको पुस्तक लेखिदिए हुन्थ्यो भन्ने पनि लाग्छ ?
जरुर त्यस्तो लाग्छ । उदाहरणका लागि समाजवादको अहिले यत्रो बहस चलिरहेको छ, यसबारे खास नेपाली सन्दर्भका पुस्तक छैनन् । कांग्रेसको यति लामो इतिहास छ र सबभन्दा पुरानो पार्टी पनि हो । तर कांग्रेसको विचार अनुसारको समाजवाद सम्बन्धित खासै पुस्तक उपलब्ध देखिदैन । त्यस्तै कम्युनिस्टको कुरा गर्ने भने एक सय वर्ष पहिले लेनिनले लेनिनवादी संगठनात्मक सिद्धान्त भनेर जे प्रतिपादन गरे, त्यो भन्दा नयाँ चिज संसारभरिका लेफ्टहरुले दिन सकेका रहेनछन् । त्यहि विषयवस्तु घोकेको घोक्यै छौं । यो एक सय वर्षमा संसारभरका कम्युनिस्टहरुले नयाँ संगठनात्मक सिद्धान्तका विषयमा किन नलेखेको होला भन्ने लाग्छ नि ।

आजभोलि कुन पुस्तक पढ्दै हुुनुहुन्छ ?
राहुल साङ्कृत्यायनको भोल्गादेखि गंगासम्म (हेमराजको उल्था), मि. इल्यीन र ये. सेगालको मानिस ं(गोपीरमणको उल्था) गरी दुइटा पुस्तक सँगसँगै पढ्दै छु ।

अन्तिममा तपाईको लेखकीय यात्राबारे के भन्नुहुन्छ ?
म त्यस्तो व्यवसायिक लेखक हँुदै होइन । लेखेर ठूलो हुन वा पैसा कमाउन लेख्ने मेरो सोंच होइन । राजनीतिक हिसाबले समाज र बजारमा जे बहस चल्छ, त्यसलाई केन्द्रमा राखेर कहिलेकाहीँ पत्रपत्रिकामा लेख्ने कोसिस मात्र गरेको हो । लेख्न त मैले पनि केही पुस्तक लेखें । लेख्नुको कारण राम्रो लेखक बनौला, मेरो राम्रो ब्राण्ड बन्ला भन्दा पनि नयाँ उत्पादन भएका कार्यकर्तालाई पठन क्रियामा उत्प्रेरित गर्न र सहजतापुर्वक माक्र्सवाद बुझ्न र बुझाउनका लागि मैले लेखेको हुँ । तर बजारमा स्थापित हुनका लागि भनेर लेख्ने गरेको छैन ।

समाज परिवर्तनको आन्दोलनका अभियन्ता र राजनीतिक नेता कार्यकर्तालाई केही सुझाव छ ?
नपढीकन एक पाइला पनि अगाडि बढ्न सकिदैन । तर नेपालको अहिलको मूल प्रवाहको राजनीति नपढीकन पनि अगाडि लान वा जान सकिन्छ भनेर जबर्जस्त ठेल्ने काम भएको महशुस हुन्छ । त्यसकारण अध्ययनलाई ज्ञान उत्पादनसँग जोड्ने कुरो, अध्ययन र ज्ञानलाई व्यवस्थित र परिस्कृत गर्नका लागि बहस गर्ने कुरो एवं माक्र्सवाद भनेको विपरितहरुको एकत्व हो भन्ने विषयलाई मूर्त अभिव्यक्त गर्ने भनेको आलोचनात्मक चेतनाद्धारा हो भन्ने विषय नपढी कसरी बुझिन्छ ? हामीसँग भएका सबै समस्याहरुको हल ज्ञानद्धारा गर्ने हो र त्यो ज्ञान अध्ययनबाटै प्राप्त हुन्छ भन्ने कुरो जव राजनीतिभित्र बलशाली हँुदैन, तबसम्म अरु कुनैपनि विषयवस्तु व्यवस्थित हुन सक्दैन ।
नोटः आजको संश्लेषण मासिक (पुस ०७६) मा प्रकाशित

Loading